बालकनीबाट हेर्दै छु ती पदचापहरू,
जहाँ श्रद्धाको लहर बगिरहेछ —
नरिवल, अमृत, फूलले सजिएको थाल लिएर,
तर साथमा लुकिएको छ एक-एक कथा।
कोही बोकेका छन् प्रसादको सौगात,
कोही भने बोकेका छन् भित्रभित्रैको पीडा,
टुटेका सपना, नबोलेका शब्दहरू,
र एक मौन आग्रह — सुन्ने गरुन् महादेव।
उहाँको मन्दिरतिर बढ्दै छन् ती पाइलाहरू,
केवल दर्शनको लागि होइन,
मनको भार हलुका पार्ने तीर्थयात्रा हो यो।
आँखाहरूमा निहारिन्छ बिश्वास,
जसले बाँच्न सिकाउँछ, सहन सिकाउँछ,
उहाँका चरणमा पुगेपछि,
मानिन्छ — हराएका स्वरहरू पनि पुकार बन्छन्।
महादेव, त्रिपुरारी, करुणाका स्रोत,
पशुपतिनाथको दर्शनमा लुकेको छ मोक्षको आशा,
जहाँ नमन मात्र होइन,
मन नै समर्पित हुन्छ — मौन भावनामा।
यी यात्रुहरू थाकेका होलान्,
तर तिनीहरूको आत्मा उज्यालो छ,
शिवधामको आशिषमा,
पुर्नजीवनको विश्वास लिएर फर्किनेछन्।
No comments:
Post a Comment