Friday, October 17, 2025

समयको रेल

ऋतुहरू अगाडि बढ्दै गएको रेल जस्तै हो,
न रोकिन्छ, न फर्किन्छ कहिल्यै,
गन्तव्य तिर दौडिरहेको रेल जस्तै,
थाक्दा पनि आफ्नो बाटो छोड्दैन।

जीवन पनि त्यस्तै हो,
कहिले हिउँद, कहिले गर्मी भोग्दै,
अड्चनहरूमा अडिँदै–हिड्दै,
आफ्नो मंजिलतिर बढिरहन्छ।

समयको रेल न रोकिने, न पर्खिने,
सबैलाई बोकेर अघि बढ्ने,
त्यस्तै छ हाम्रो जीवन यात्रा —
न त स्थिर, न त अन्त्य हुने।

मेरो गाईको बाछो

मेरो गाईको बाछो
सानो छ, ज्ञानी छ,
आमाको कुरो मान्छ,
गाई आरौँछिन्, ऊ सुन्छ।

तर मेरा बालक त अर्कै छन्,
कसैको कुरा नमान्ने छन्,
मोबाइलमै हराउँछन् सारा दिन,
पढाइ देख्दा हुने गर्छ चिन।

घाँस खाएर बाछो रमाउँछ,
आमाको नजरमा मुस्कुराउँछ,
तर मेरा बालकलाई त,
आमाको माया पनि थोरै लाग्छ।

कति फरक हो यो जीवनको चाल,
पशुमा ममता, मान्छेमा जाल,
गाईको बाछोले मान्छ माया,
मानव सन्तानले किन गुमायो छाया?

Wednesday, October 15, 2025

इच्छा— संघर्ष र अस्तित्व


इच्छा नहुँदा पनि,
म लत्रिदै थिएँ, बाँचिरहेको थिएँ,
धुङ्गा रूपी मेरो जीवनका कष्टहरू
फुटाउँदै थिएँ, टुक्र्याउँदै थिएँ।

म म मात्रै थिएँ र थिएँ पनि होइन,
मेरो जीवन सङ्गिनीको आश थिएँ,
उनको आँखामा उज्यालोको झल्को थिएँ।
लत्रिँदै पनि म बाँचिरहेको थिएँ,
जीवनका कष्ट रूपी ढुंगाहरू
कुट्दै थिएँ, फुटाउँदै थिएँ।

म म मात्रै होइन,
मेरो लालाबालाको पनि आस थिएँ,
उनीहरूको स्तम्भ, उनीहरूको सास थिएँ।
थकित हृदय लिएर पनि
म हिम्मतको गीत गाउँदै थिएँ।

सास बिना पनि म लत्रिदै थिएँ,
तर बाँचिरहेको थिएँ,
ढुंगा रूपी दु:ख फुटाउँदै,
आफ्नै पसिनाबाट जीवन कोर्दै थिएँ।

किनकि मर्ने समय मरेको होइन,
जीवन अझ बाँकी छ,
मेरो सन्तानका मुस्कानभित्र म अझ बाँचिरहेको छु। 🌤️

                                 ✍️ – कृष्ण आचार्य

Tuesday, October 14, 2025

म प्रतीक्षा गर्दैछु


म सयौं वर्ष जेष्ठ हुँ तिमी भन्दा,
तर अजै बालकझैं छु;
मलाई हिँड्न, अघिबढ्न दिइएन,
मेरो अस्तित्व गोरखेको मस्तिष्कमा मात्रै बाँचेको छ,
देशको नक्सामा होइन।

म बाँच्नेछु कि मेटिनेछु,
यो निर्णय अब गोरखा युवाको हातमा छ।

मेरो युवा भड्किएका छन्,
बाढिएका छन् जात-पात र तल्लो-माथिको बन्धनमा,
विसङ्गतिमा धकेलिएका छन्,
तर म आशावादी छु—
एकदिन उनीहरू फर्किनेछन्
आफ्नो कर्तव्यपथमा,
मेरो नाम पुकार्दै आउनेछन्
मेरो पहिचान बोक्दै आउनेछन्।

म प्रतीक्षा गर्दैछु
आसाको दियो निभ्दैन,
मेरो प्रतीक्षा अनन्त छ,
जबसम्म गोरखा रगत
यस भूमिमा बगिरहेछ,
म मेटिँदिन।

Tuesday, October 7, 2025

टुटेको तारा ✨


म तारा हुँ सजिएकी तिम्रै लागि,
म सजिएँ पनि कसैले हेरेन आकाश तिर।
मेरो वर्णन ग्रन्थका पानामा भेटिन्छ,
तर मेरो प्रशंसा कतै सुनिँदैन — न मुखमा, न मनमा।

म चम्किँदा कसैले महसुस गरेन,
अन्धकार चिर्ने मेरो दिप्ति पनि बेकार भयो।
तर म टूट्दा मात्रै सबैले हात जोड्छन्,
“आशीर्वाद देऊ” भनी माग्छन्,
जस्तो मेरो अन्त्य नै उनीहरूको सुरुवात हो।

टुटेको तारा म — के आशीर्वाद दिउँ त?
म सिङ्गो हुँदा पो माग्नु थियो,
म सर्वस्व दिने तयारीमा थिएँ,
प्रेम, प्रकाश र उर्जा सबै अर्पण गर्न तयार।

अब त म आकाशको अँध्यारो गर्भमा हराएँ,
मेरो उज्यालो तिम्रो इच्छामा टुटेर गयो।
तर सम्झनु — तारा कहिल्यै मर्दैन,
उसको उज्यालो हरेक सपनामा बाँचिरहन्छ।

Saturday, September 20, 2025

नदी जस्तै बगिरहेछ

जीवन त रमाइलो मेला हो,
कसैले लड्डु चपायो, कसैले केवल हेरेर बस्यो।
सपनाले भरिएका कुरा सबै गर्छन्,
तर बिहान उठ्दा भाँडामा दाल पनि छैन।

धन ?
आज छ, भोलि करको डाँडीमा जान्छ।
राजाले पनि भिक्षा माग्नुपरेको कथा त इतिहासमै छ।
तर ज्ञान ?
एउटा किताब खोलेर पढ्दा पनि
हामीले आफूलाई राजामहिमाजस्तै ठान्छौँ।

लोभ ?
भरे पेट भएर पनि “थप-थप” भन्दै लार टप्काउँछ।
अहंकार ?
नाङ्गो शिशुलाई देखेर पनि
“यो त मेरो भन्दा कमजोर पो रहेछ” भन्छ।
तर साँचो सुख ?
पेटभरि खाइदिँदा होइन,
छिमेकिलाई आधा रोटी बाँडिदिँदा जन्मन्छ।

हे मान्छे!
नदी जस्तै बगिरहेछ तेरो उमेर,
केही घाममा, केही पानीमा, केही दलदलमा।
तर यदि हाँस्न सकिस् भने
जीवनको यो खुस्खुसिएको नाटक पनि
स्वर्गको टिकटजस्तो मज्जाको हुन्छ।

अन्धकार गोरेटो जस्तै

जीवन त अन्धकार गोरेटो जस्तै,
छिनमै देखिन्छ, छिनमै बिलाउँछ।
आजको प्रभात भोलि त सन्ध्या,
तर हृदयमा सपना झन् बल्जिन्छ।

हावा संगै उड्छन् आशा,
कहिले टुट्छन्, कहिले जोडिन्छन्।
वेदना बीचै पनि गुनगुनाउँछन्,
आगामीलाइ आलिङ्गन गर्छन्।

नदी जस्तै बग्छ समय,
पर्खेर बस्दैन कहिल्यै।
तर हरेक मोडमा उभिन्छ आशा,
फेरि उठ्न, फेरि अघि बढ्न।

संघर्ष हो जीवनको सत्य,
तर यसैमा चम्किन्छ उज्यालो।
क्षणभर भए पनि हरदम,
सपनाले कोर्छ भविष्यको गाथा।

समयको रेल

ऋतुहरू अगाडि बढ्दै गएको रेल जस्तै हो, न रोकिन्छ, न फर्किन्छ कहिल्यै, गन्तव्य तिर दौडिरहेको रेल जस्तै, थाक्दा पनि आफ्नो बाटो छोड्दैन। जीवन पन...