इच्छा नहुँदा पनि,
म लत्रिदै थिएँ, बाँचिरहेको थिएँ,
धुङ्गा रूपी मेरो जीवनका कष्टहरू
फुटाउँदै थिएँ, टुक्र्याउँदै थिएँ।
म म मात्रै थिएँ र थिएँ पनि होइन,
मेरो जीवन सङ्गिनीको आश थिएँ,
उनको आँखामा उज्यालोको झल्को थिएँ।
लत्रिँदै पनि म बाँचिरहेको थिएँ,
जीवनका कष्ट रूपी ढुंगाहरू
कुट्दै थिएँ, फुटाउँदै थिएँ।
म म मात्रै होइन,
मेरो लालाबालाको पनि आस थिएँ,
उनीहरूको स्तम्भ, उनीहरूको सास थिएँ।
थकित हृदय लिएर पनि
म हिम्मतको गीत गाउँदै थिएँ।
सास बिना पनि म लत्रिदै थिएँ,
तर बाँचिरहेको थिएँ,
ढुंगा रूपी दु:ख फुटाउँदै,
आफ्नै पसिनाबाट जीवन कोर्दै थिएँ।
किनकि मर्ने समय मरेको होइन,
जीवन अझ बाँकी छ,
मेरो सन्तानका मुस्कानभित्र म अझ बाँचिरहेको छु। 🌤️
✍️ – कृष्ण आचार्य
No comments:
Post a Comment