अब घर पराइ झैँ लाग्छ,
ढोका त खुला छ, तर हृदयले चिन्न छाडिसक्यो।
दर्जिलिङको गोठ, आँगन, बगैँचाको फलफूल सबै सम्झना बनेर बस्छन्,
तर त्यहाँ फर्किनु अब इतिहासको पानामा मात्र सम्भव छ।
हजारौँ दिन बिते,
युद्धले, राजनीति र नीतिले
हामीलाई सीमापार धकेल्यो।
कसैले भाषा काटिदियो, कसैले संस्कृति,
कसैले भने "तिमी यहाँका हैनौ" भनेर ट्याग झुन्ड्यायो।
त्यो बेला घर फर्कने विश्वास थियो—
"एक दिन हामी फर्कनेछौं" भनेर आमा ढुकढुकी लगाउँथिन्,
बुबा छाती ठोक्थे, "यो त अस्थायी विस्थापन मात्र हो" भन्थे।
तर अब त पुस्ता बदलियो,
घर जाने बाटो त कागजको नक्सामा मात्र बाँकी छ।
अंगालोमा खेल्ने साथीहरू
दार्जिलिङ निवासी कहलिए,
हामीचाहिँ मेघालयतिर बग्यौँ।
बस्ती, बजार, मन्दिर–मस्जिद
सबै अझै त्यहीँ हो, तर हामी मात्र बाहिर छौं।
घर फर्कने सपना बोक्ने पिँढी बुढ्यौलीले हरायो,
नयाँ पुस्ताले त दार्जिलिङ निवासी
कथा–कवितामा मात्र चिने।
अब त यादहरू मात्रै बाँकी छन् ,
दार्जिलिङर्को मेलामा गुञ्जिने ढोल,
धान रोप्दा गाइने लोकगीत,
नयाँ कपडामा रमाउने तिहारको रमाइलो,
सबै सम्झना बनेर हृदयमा बज्छन्।
तर कठोर सत्य के छ भने
घर जाने आश पनि हरायो,
आशा हराएपछि सम्झना मात्र शरण छ।
दार्जिलिङलाई मनले बोकेर
मेघालयको आकाशतले बाँच्नु नै
विस्थापितहरूको शाश्वत भाग्य बनेछ।
No comments:
Post a Comment